काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार असोज मसान्तसम्म सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूले कुल १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूले १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। यसअनुसार एक वर्षमा निर्जीवन बीमा व्यवसाय २२.८२ प्रतिशतले विस्तार भएको हो।
व्यवसायको आकारका आधारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) पहिलो स्थानमा रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको संकलन १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ थियो। यससँगै सलिकोको व्यवसाय २२.५० प्रतिशतले बढेको छ।
दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँको तुलनामा कम्पनीको व्यवसाय २९.५४ प्रतिशतले बढेको हो।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि व्यवसाय विस्तारमा राम्रो प्रगति गरेको छ। कम्पनीले गत वर्षको असोजसम्म १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा यस वर्ष ३४.५४ प्रतिशत वृद्धि गर्दै १ अर्ब ६० करोड ९९ लाख रुपैयाँ पुर्याएको छ।
प्रतिशतका आधारमा सबैभन्दा बढी व्यवसाय विस्तार गर्ने कम्पनी भने एनएलजी इन्स्योरेन्स बनेको छ। कम्पनीले गत वर्षको १ अर्ब २ करोड ५६ लाख रुपैयाँ बीमाशुल्कलाई ४५.४६ प्रतिशतले बढाएर १ अर्ब ४९ करोड १८ लाख रुपैयाँ पुर्याएको छ।
त्यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३४.२९ प्रतिशतको वृद्धि हासिल गर्दै १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ९९ करोड ६ लाख रुपैयाँ संकलन गरेको थियो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसाय ७.७७ प्रतिशतले बढेर १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ पुगेको छ। गत वर्ष कम्पनीको बीमाशुल्क संकलन १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ थियो।
नेको इन्स्योरेन्सले २४.७५ प्रतिशत वृद्धि गर्दै १ अर्ब १५ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्ष कम्पनीले ९२ करोड ८३ लाख रुपैयाँ संकलन गरेको थियो।
दि ओरियण्टल इन्स्योरेन्सको व्यवसाय २४.६० प्रतिशतले बढेर ९८ करोड २४ लाख रुपैयाँ पुगेको छ। युनाइटेड अजोड इन्स्योरेन्सले भने ८.९६ प्रतिशत वृद्धि गर्दै ९६ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
नेपाल इन्स्योरेन्सले १६.७० प्रतिशतको वृद्धि हासिल गर्दै ८२ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। त्यस्तै सानिमा जीआईसी इन्स्योरेन्सको संकलन ५.३६ प्रतिशतले बढेर ७१ करोड ८३ लाख रुपैयाँ पुगेको छ। प्रभु इन्स्योरेन्सले ५.३८ प्रतिशत वृद्धि गर्दै ५३ करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय पनि २२.५२ प्रतिशतले बढेको छ। कम्पनीले गत वर्षको ४१ करोड ४१ लाख रुपैयाँबाट वृद्धि गर्दै यस वर्ष ५० करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
त्यस्तै नेशनल इन्स्योरेन्सले ११.७६ प्रतिशत वृद्धि गर्दै ४७ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको संकलन ४२ करोड ८४ लाख रुपैयाँ थियो।
समग्रमा निर्जीवन बीमा क्षेत्रको व्यवसायमा दोहोरो अंकको वृद्धि देखिएको छ।
































