काठमाडौं । शेयर लगानीकर्ता तथा बजार विश्लेषक छोटेलाल रौनियारले मौद्रिक नीतिको समिक्षाबाट लगानीकर्ताहरुले ठूलो आशा राखे पनि अपेक्षाकृत फल नपाउँदा त्यसको प्रत्यक्ष मारमा शेयर बजार परेको बताएका छन् । आर्थिक भ्वाईससँगको कुराकानीमा रौनियारले लगानीकर्ताहरुको आशामा धेरै पटक तुसारापात भएको र हाल सोही कारण पनि अधिकांश लगानीकर्ताहरु बिच्किएको प्रतिक्रीया दिएका हुन् । त्यस्तै, उनले पुँजी बजार टुहुरो भएको मशसुस भएको भाव व्यक्त गरेका छन् ।
यस्तो छ बजार लगातार घट्नुको कारण
मौद्रिक नितीको समिक्षाबाट लगानीकर्ताहरुले आकर्षक फल पाएनन् ।
बजारमा लगानीकर्ताहरुलाई सुधारका कुराहरु आएको देखिदैन । ब्रोकर कमिशन कम गराउँने कुरा रद्दीको टोकरीमा फालिसकेको अवस्था छ । त्यहाँ १० प्रतिशत कमिशन कम्तीमा पनि घटाउनु पर्ने थियो । यस्तो स्थितीमा क्यापिटल गेन ट्याक्स पनि घटेन ।
यस्तो छ व्याजदरको प्रभाव
व्याजदरको सन्दर्भमा भन्ने हो भने डिपोजिटमा लोन घटाएको छ ऋण दिनेमा घटाएको छैन । यसरी हेर्दा त राष्ट्र बैंकले एनपीएल रिकभरको लागि मात्रै पोलिसी बनाएको अवस्था छ । राष्ट्र बैंक र बैंकको मिलिभगत हो, यो । अहिले सिंगल डिजिटमा आउँनु पर्ने व्याज आएको छैन ।
यता उद्योग व्यापार जम्मा पचास प्रतिशत मात्रै चलेको छ । व्यापार पनि त्यस्तै अवस्थामा छ । राष्ट्रिय हितको कुरामा, बैंकमा ६ खर्ब रुपैयाँ पैसा हुँदा, सिडी रेसियो ८० प्रतिशत पुग्दा पनि बैंकबाट लोन लिन नसक्ने अवस्थाको सिर्जना गरिएको छ । नन पर्फमिङ लोन मात्रै बढेको छ । यसमा त म राष्ट्र बैंकलाई मात्रै दोष दिन्छु । मौद्रिक नीति ल्याउँदा मात्रै आशा देखाएर हुँदैन । बजार पुँजीकरण पहिलेको अवस्थामा नआएसम्म, गुमेको १७ खर्ब रुपैयाँ फिर्ता नआएसम्मको यसको घाटा सबैलाई छ । गृहिणीलाई पनि घाटा छ, विद्यार्थी, डाक्टरहरु सबैलाई घाटा छ ।
कसरी कायम होला पुरानै पुँजीकरण ?
क्यापिटल गेन ट्याक्स कम गर्नुपर्छ । तपाईहरुले यसको लागि चाईनालाई उदाहरणको रुपमा हेर्न सक्नुहुन्छ । भारतमा ७३ हजारको इन्डेक्स रहेको छ । विदेशी लगानीकर्ताबाट दुई महिनामा १३ प्रतिशत कमाई त भारतले गरिरहेको छ । भुटानमा ५६ प्रतिशत बढेको छ । पाकिस्तान जस्तो कमजोर आर्थिक अवस्था भएको देशमा ६५ हजार इन्डेक्स रहेको छ । श्रीलंकामा ११ हजारको इन्डेक्स छ । हामी कहाँ जम्मा २ हजारको इन्डेक्स चलिरहेको अवस्था छ । नेपालमा त सरकारले छोटो समयमा पोलिसी परिवर्तन गरेको छ । पुँजी बजार टुहुरो भएको छ । तपाई यसलाई हेड लाइनमा राख्नुस् न मिल्छ भने मेरो भनाई यही छ । अर्थमन्त्रीले राम्रो गर्लान् भनेको त उहाँ त कस्तो रहेछ भने एउटा सिन्का पनि नभाँच्ने अनि पुँजी बजारको सुधारको लागि एउटा क,ख,ग केही पनि काम गरेका छैनन् । बरु, बेलाबेलामा लगानीकर्ताहरुलाई गाली गरेको मात्रै हामीले सुन्छौं ।



































