काठमाडौं। सुनको मूल्य लगातार उकालो लाग्ने क्रमले आजपनि निरन्तरता पाएको छ। आजको कारोबारमा सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँले बढ्दै नयाँ उचाइमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढाव, डलरको विनिमय दर तथा स्थानीय माग–आपूर्तिको अवस्थाले सुनको भाउ प्रभावित हुने गरेको व्यवसायीहरू बताउँछन्।
यता, चाँदीको मूल्यमा भने आज गिरावट आएको छ। चाँदी प्रतितोला १० रुपैयाँले घट्दै ५ हजार ५८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिनको तुलनामा सामान्य गिरावट भए पनि चाँदीको मूल्य स्थिरताको आसपासमै रहेको व्यवसायीहरूको भनाइ छ।






































