काठमाडौँ। एकै दिन बैंकिङ प्रणालीमा २४ अर्ब बराबरको निक्षेप संकलन भएको छ।
यस अगाडि नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार २४ गते एकै दिन बैंकिङ प्रणाली १२ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको थियो।
त्यसपश्चात् फेरि राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडा अनुसार २५ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ५७ अर्ब पुगेको छ।
कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप पनि १ अर्बले बढेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।
यस अवधिमा कर्जा प्रवाहमा भने गिरावट आएको छ । असार २५ गतेसम्म बैंकिङ प्रणालीबाट ५१ खर्ब ५६ अर्ब बराबरको कर्जा प्रवाह भएको छ । असार २४ गतेसम्म भने ५१ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो ।
निक्षेप बढ्दै जाँदा र कर्जा प्रवाह सुस्त बन्दा सिडी रेसियो निरन्तर ओरालो लागिरहेको छ । सिडी रेसियो ७८.१३ प्रतिशतबाट घटेर ७७.८४ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर २.९८ प्रतिशत कायम छ ।
कर्जाको मागभन्दा निक्षेप थुप्रिने क्रम बढेसँगै बैंकहरुको औसत सिडी रेसियो असार २४ सम्ममा ७८.१३ प्रतिशत झरेको थियो। असार २४ मा अन्तरबैंक ब्याजदर भने २.९३ प्रतिशतमा ओर्लेको थियो ।

































