काठमाडौँ । मृगौला प्रत्यारोपणपछि विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्न सफल भएका पेम्बा शेर्पाले साहस र सम्भावनाको अद्वितीय उदाहरण प्रस्तुत गरेका छन्।
पेम्बाले स्वास्थ्यको ठूलो चुनौती पार गर्दै वैशाख ३१ गते बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्। यस ऐतिहासिक सफलतालाई सम्मान गर्दै एनसेल फाउन्डेसनले उनको यात्रा तथा उपलब्धिलाई असाधारण प्रेरणादायी भएको जनाएको छ।
एनसेल फाउन्डेसनका अनुसार पेम्बाको यात्रा केवल एक व्यक्तिको विजय मात्र नभई शारीरिक रूपले चुनौती भोगिरहेका लाखौँका लागि प्रेरणा र आशाको उज्यालो हो। साथै, यसले मानव संकल्प र इच्छाशक्तिका सीमाहरू कति दूर पुग्न सक्छ भन्ने सन्देश विश्वभरि पुर्याएको छ।
“सगरमाथा आरोहणभरि मेरो स्वास्थ्य सबल रह्यो,” पेम्बाले आरोहणपछि प्रतिक्रिया दिँदै भने, “मैले ८५ करोड मृगौला रोगीहरूको आशा बोक्दै चुचुरोमा पाइला टेकेको महसुस गरेँ। यो यात्रा जलवायु संकटका कारण संकटमा परेका हिमालहरूको संरक्षण सन्देश पनि हो।”
उनले थपे, “मैले धेरै ठाउँमा गुहारें तर मेरो सपना एनसेल फाउन्डेसनले मात्र विश्वास गरेर सम्भव बनायो। म हृदयदेखि आभारी छु।”
एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट्सकी निर्देशक विशाखा लक्ष्मी खड्काले भनिन्, “पेम्बाको यात्रा प्रेरणा, धैर्य र प्रतिबद्धताको प्रतीक हो। यो व्यक्तिगत उपलब्धिमात्र नभई जलवायु संकटप्रति चेतना फैलाउने एक सशक्त आह्वान पनि हो।”
उक्त आरोहणले हिमालहरू केवल साहसिक गन्तव्य नभई हाम्रो वातावरणको संवेदनशीलता र संरक्षणको आवश्यकता झल्काउने संकेत भएको फाउन्डेसनले स्पष्ट पारेको छ।
सकारात्मक सामाजिक रूपान्तरणका लागि प्रतिबद्ध एनसेल फाउन्डेसनले देशभरिका समुदायमा स्वास्थ्य, शिक्षा, डिजिटल पहुँच र समावेशी विकास प्रवद्र्धन गर्दै आएको छ।
हालसम्म दुई अर्ब रुपैयाँभन्दा बढी सामाजिक योगदान दिइसकेको फाउन्डेसनले एक करोड ३० लाखभन्दा बढी नेपालीको जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पुर्याएको जनाएको छ।






































