काठमाडौं। केन्द्रीय बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत खासै केही नीतिगत परिवर्तन गरिएको छैन । संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने भनिएको छ ।
ब्याजदर घट्दै गएको, पर्यटक आगमन बढिरहेको र पुँजीगत खर्चमा समेत तीव्रता आउँदा आर्थिक गतिविधिहरुमा सुधार भई कर्जा असुलीमा समेत सुधार आउँदै जाने अनुमान रहेको राष्ट्र बैंकले जनाएको छ।
आर्थिक गतिविधिहरु केही शिथिल रहेको परिप्रेक्ष्यमा बैकिङ्ग प्रणालीमा कर्जा असूली कम भै निष्कृय कर्जा अनुपात केही बढेको छ । २०८० पुसमा बैक तथा वित्तीय संस्थाहरुको औसत निष्कृय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको छ । बाह्य क्षेत्रतर्फ चालु खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आउनुको साथै मौद्रिक विस्तार भएको छ । निक्षेप तथा कर्जाका ब्याजदरहरु घट्दो क्रममा रहेका छन्।
शोधनान्तर बचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै लगिएको केन्द्रिय बैंकले जनाएको छ। यसबाट व्यावसायिक मनोवलमा क्रमिक सुधार आउँदै गएको केन्द्रिय बैंकले उल्लेख गरेको छ।
बाह्य तथा वित्तीय क्षेत्रको परिदृश्य, नीतिगत कार्यदिशा, पुँजीगत खर्चमा क्रमशः आउने तीव्रता र बजेट बक्तव्यमा घोषणा गरिएका आर्थिक सुधारसम्बन्धी कार्ययोजनाहरुको कार्यान्वयनबाट कर्जा मागका साथै आर्थिक गतिविधिमा पनि क्रमिक सुधार आउने अपेक्षा केन्द्रिय बैंकको छ। आर्थिक गतिविधिमा आउने सुधारबाट राजस्व परिचालन र बैंक तथा वित्तीय संस्थाको कर्जा असूली तथा लगानी क्षमतामा समेत सकारात्मक प्रभाव पर्ने केन्द्रिय बैंकले जनाएको छ।
हेरौं, मौद्रिक नीति समीक्षाको पूर्ण पाठ
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/02/2ndQTR_Review_Board-FINAL-2.pdf"]






























