काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान अवस्था पुनरावलोकन गर्ने भएको छ।
आज शुक्रवार आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सुन आयात तथा बिक्री वितरणसम्बन्धी अध्ययन प्रतिवेदनको सिफारिस समेतको आधारमा नेपाल सरकारको समन्वयमा पुनरावलोकन गरिने बताएका छन् ।
उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले गर्ने ननडेलिभरेबल फरवार्डमा कायम प्राथमिक पुँजीको २० प्रतिशतको सीमालाई वृद्धि गरी २५ प्रतिशत गरिनेछ।
यसैगरी राष्ट्र बैंकले विदेशी लगानी आकर्षण गर्न वाणिज्य बैंकमार्फत् विदेशी विनियम जोखिम व्यवस्थापन गर्न व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख गरेको छ।
भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रति पटक अमेरिकी डलर २५ सय सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकोमा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर ३ हजार कायम गरिने मौद्रिक नीतिमा उल्लेख छ।































