काठमाडौं । हाल सञ्चालनमा रहेका २० बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २० वाणिज्य बैंकको खुद नाफा ९.९५ प्रतिशतले घटेको छ । यसअवधिमा बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
अघिल्लो वर्षको यसैअवधिमा वाणिज्य बैंकले ३१ अर्ब ९४ करोड ३१ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका थिए ।
एक वर्षको अवधिमा अधिकांश बैंकको खुद नाफा घटेको छ । बैंकहरुको खराब कर्जा बढ्दा खुद नाफामा दबाब परेको देखिन्छ । सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिलले ३ अर्ब २० करोड ३० लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्राइम, ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब माथि छ । ४ बैंकको नाफा बढेको छ भने १६ को घटेको छ । समीक्षा अवधिमा नेपाल बैंकको खुद नाफा सर्वाधिक ४९.६० प्रतिशत घटेको छ।




































