काठमाडौँ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा अझै १५ दिन रातको समयमा यातायात रोकिने भएको छ । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आगामी वैशाख ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरेर काम गरिने भएको हो ।
सडक विभागले सूचना जारी गर्दै वैशाख ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक ६ घन्टा दाउन्ने क्षेत्रमा यातायात रोकेर काम गरिने जनाएको छ ।
दाउन्ने सडकखण्डमा यसअघि चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ देखि ३ बजेसम्म यातायात रोकेर काम गरिएको थियो भने २०८२ वैशाख १ गतेदेखि रातिको ११ देखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको छ ।
नारायणगढ–बुटवल सडकको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ लेनको सडक बनाइँदै छ । यस्तै बढी जोखिम रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ ।
१७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।
































