काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य मंगलबार प्रतितोला ३०० रुपैयाँले बढ्दै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य बढेसँगै गहना व्यवसायी र उपभोक्ताको ध्यान बजारतर्फ तानिएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको उतारचढाव, अमेरिकी डलरको विनिमय दर, विश्वव्यापी आर्थिक अनिश्चितता तथा भू–राजनीतिक तनावका कारण सुनको मूल्य निरन्तर उकालो लागेको व्यवसायीहरूको भनाइ छ। साथै लगानीकर्ताहरू सुरक्षित लगानीको विकल्पका रूपमा सुनतर्फ आकर्षित हुँदा मूल्यमा थप दबाब परेको बताइन्छ।
यस्तै, चाँदीको मूल्य पनि बढ्दो क्रममा रहेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्यमा आएको वृद्धिले चाँदीका गहना तथा भाँडाकुँडा कारोबारमा समेत असर पर्न सक्ने अनुमान गरिएको छ।






































