काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो एक साताको अवधिमा उल्लेखनीय रूपमा बृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव स्वदेशी बजारमा पनि परेसँगै यो साता सुनको मूल्य प्रतितोला १० हजार २०० रुपैयाँले वृद्धि भएको हो। यो वृद्धि अघिल्लो साताको तुलनामा ३.३५ प्रतिशतले बढी हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत फागुन ८ गते शुक्रबार प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन, एक सातापछि फागुन १५ गतेसम्म आइपुग्दा ३ लाख १४ हजार ९०० रुपैयाँ पुगेको छ।
साताको सुरुवात नै उच्च वृद्धिसँग भएको थियो। फागुन १० गते आइतबार सुनको मूल्य एकैदिन ५ हजार ६०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँ पुगेको थियो। त्यसको भोलिपल्ट फागुन ११ गते पुनः ३ हजार २०० रुपैयाँले वृद्धि हुँदै सुन ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
फागुन १२ गते सुनको मूल्य थप बढेर ३ लाख १४ हजार ८०० रुपैयाँ कायम भयो भने फागुन १३ गते भने मूल्य स्थिर रहँदै अघिल्लो दिनकै दरमा कारोबार भयो। त्यसपछि फागुन १४ गते फेरि उकालो लाग्दै सुन ३ लाख १५ हजार ४०० रुपैयाँ पुगेको थियो, जुन साताकै उच्च बिन्दुमा पुगेको हो ।
साताको अन्तिम दिन फागुन १५ गते भने सुनको मूल्यमा सामान्य करेक्सन देखियो। सो दिन प्रतितोला ५०० रुपैयाँले घट्दै सुन ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
समग्रमा हेर्दा साताभर चार दिन मूल्य वृद्धि, एक दिन स्थिरता र एक दिन सामान्य गिरावट देखिएको छ। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग, अमेरिकी डलरको विनिमय दरमा उतारचढाव तथा बढ्दो भू–राजनीतिक अनिश्चितताले सुनको मूल्यमा दबाब सिर्जना गरेको हो।






































