काठमाडौं। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा सुनको मूल्यमा बढ्दो क्रमले आज पनि निरन्तरता पाएको छ । बुधवार स्थिर रहेको सुनको मूल्य बिहीबार भने उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढ्दै तीन लाख १५ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन स्थिर रहेको बजारमा आज पुनः वृद्धि देखिएसँगै सुनले उच्च मूल्यतर्फ उन्मुख हुने संकेत देखाएको छ ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढ्दै पाँच हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढाव, डलरको मजबुती तथा लगानीकर्ताको सुरक्षित लगानीतर्फको झुकावका कारण सुनको मूल्यमा निरन्तर चाप देखिँदै आएको छ । पछिल्ला दिनमा भू–राजनीतिक अनिश्चितता र मुद्रास्फीतिको जोखिमले पनि सुनको माग बढाउने प्रमुख कारण बनेको जानकारहरूको भनाई छ ।






































