काठमाडौँ । अष्ट्रेलियाका न्यूनतम पारिश्रमिकमा ३.५ प्रतिशतको वृद्धि हुने भएको छ। न्यूनतम पारिश्रमिकमा काम गर्दै आएका लाखौँ श्रमिकहरूका लागि आगामी जुलाई १ बाट तलबमा फेयर वर्क कमिसनले आफ्नो वार्षिक समीक्षा पूरा गर्दै यस्तो निर्णय गरेको हो । जसले मुद्रास्फीतिपछिको वास्तविक आयमा सुधार हुने आशा गरिएको छ।
यो निर्णयअनुसार अब न्यूनतम तलब प्रति घण्टा २४.९५ अस्ट्रेलियन डलर र साप्ताहिक ९४८.७० डलर हुने छ । जुन पूर्ण समय (३८ घण्टा) काम गर्ने श्रमिकका लागि लागू हुनेछ। हाल अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर २.४ प्रतिशत रहेको सन्दर्भमा यो वृद्धिलाई श्रमिकको खरिद शक्ति सुदृढ बनाउने कदमको रूपमा हेरिएको छ।
अस्ट्रेलियामा न्यूनतम तलबमा काम गर्ने करिब ३० लाख बढी कामदारहरू रहेको उल्लेख गरिएको छ। कमिसनका अनुसार यस वृद्धिबाट सबैभन्दा धेरै लाभ पाउने समूहमा महिला ,पार्टटाईम ,श्रमिक र क्याजुअल काममा संलग्न श्रमिकहरू पर्छन्। यी श्रमिकहरू प्रायः होटल र खानपान सेवा, खुद्रा व्यापार, स्वास्थ्य र सामाजिक सेवा तथा प्रशासनिक क्षेत्रमा केन्द्रित छन्।
फेयर वर्क कमिसनको तथ्यांकअनुसार न्यूनतम अवार्ड तलबमा आश्रित श्रमिकहरूले अस्ट्रेलियाको कुल तलब खर्चको केवल १०.५ प्रतिशत मात्र ओगटेका छन्। सन् २०२१ यता श्रमिकको वास्तविक तलब अर्थात् मुद्रास्फीतिपछिको मूल्य करिब ४.५ प्रतिशतले घटेको कमिसनले जनाएको छ ।

































