काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। जहाज दुर्घटनामा क्याप्टेन मनिष शाक्य गम्भीर घाइते भएका छन्।
उनको उद्धार गरी उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । जहाजमा सवार मध्ये पाइलट बाहेक सबैको मृत्यु भएको विमानस्थल स्रोतले जनाएको छ ।
रन वे ०२ बाट टेक अफ लिने क्रममा पूर्वतर्फ रन वे २० मा जहाज दुर्घटना भएको हो । घटना लगत्तै गृहमन्त्री रमेश लेखक विमानस्थलमा पुगेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।
दुर्घटना भएसँगै अन्तर्राष्ट्रिय विमान आकाशमा नै होल्ड भएका छन् । थाइ एयरवेजको काठमाडौँ आउँदै गरेको जहाज भारतीय आकाशमा होल्ड भएको छ । भने, बङ्गलादेशको ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान सिमराको आकाशमा होल्ड भएर डाई भट गरिएको छ ।
(यसअघिको समाचारमा जहाजमा सवार १९ जनाकै मृत्यु भनेर उल्लेख भएको प्रति क्षमाप्रार्थी छौं) 































