काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा भदौ ३१ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभाले बैंकका अग्राधिकार सेयरधनीलाई अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि २०८३ साल असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
त्यस्तै, साधारणसभाले बैंकका साधारण सेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण पारित गरेको छ। यसअन्तर्गत वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरिएको बैंकले जनाएको छ।
यसैगरी, साधारणसभाले बाह्य लेखापरीक्षकका रूपमा एन.बि.एस.एम. एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।
साधारणसभामा सेयरधनीहरूले बैंकको वित्तीय अवस्था, आगामी रणनीति तथा लाभांशलगायतका विषयमा राखेका जिज्ञासाको जवाफ सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए।
सेयरधनीका जिज्ञासाको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत थकालीले बैंकले निरन्तर रूपमा दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएको बताए। उनले आगामी दिनमा संस्थालाई थप दिगो, सबल र प्रतिस्पर्धी बनाउँदै लैजान बैंक प्रतिबद्ध रहेको उल्लेख गरे।

































