काठमाडौं । केही समययता कृषि, पशुपंक्षी तथा जडीबुटी बीमामा आकर्षण देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १४ ओटा निर्जीवन बीमा कम्पनीहरुले ५० हजार चार ओटा बीमालेखहरु बेचेका छन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकका अनुसार जसबाट बीमा कम्पनीहरुले ५८ करोड ३८ लाख ७७ हजार कम्पनीहरुले प्रिमियम कलेक्सन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले बढी हो ।
सो अवधिमा दाबी भुक्तानी माग्नेको सङ्ख्या भने ४१.८७ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दावि भुक्तानीको लागि ४ हजार ९८९ निवेदन परेका थिए । गत आर्थिक वर्षको सोही अवधिमा भने यस्ता निवेदनको सङख्या ८ हजार ५८२ रहेको बीमा प्रधिकरणले जनाएको छ ।
गत आर्थिक वर्ष २०८०–८१ मा कृषि पशुपक्षी तथा जडीबुटी बीमाका १ लाख ५० हजार ३ सय ४५ बीमालेखहरु बिक्री गरेका थिए । जसबाट कम्पनीहरुले २ अर्ब ८५ करोड ६० लाख ६ हजार बरानवरको प्रिमियम कलेक्सन गरेको तथ्यांक प्राधिकरणको छ ।
कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा किन आवश्यक छ ?
बीमा कम्पनीहरुले बीमाको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले बि.स. २०६९ साल माघ १ गते कृषि तथा पशुपंक्षी बीमा निर्देशन–२०६९ जारी गर्दै औपचारिक रुपमा कृषि तथा पशुपक्षी बीमाको सुरुवात गरेको थियो । त्यसपछि वि.स. २०७७ मा यसमा परिमार्जन गर्दै नयाँँ कृषि तथा पशुपंक्षी बीमा निर्देशिका–२०७७ जारी गरेको थियो ।
कृषि तथा पशुपंक्षी बीमा कार्यक्रमलाई प्रवद्धन गरी कृषि क्षेत्रमा रहेका जोखीमहरुलाई कम गर्दै उत्पादकत्व वृद्धि गर्नका लागि भन्दै यो बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान दिने ब्यवस्था गरेको थियो । भने हाल अनुदानको दायरालाई बढाएर ८० प्रतिशतसम्म दिने ब्यवस्था सरकारले गरेको छ । त्यसपछि भने यो बीमालेखमा आकर्षण देखिएको बीमा ब्यवसायीहरुको भनाई छ ।
कुनै पनि प्रकारका प्राकृतिक वा मौसमी समस्याका कारण किसानले कृषिजन्य कार्य गर्दा गरेको लगानी खेर जाने अवस्थामा तिनको लगानी सुरक्षित गरी केही हदसम्म भए पनि जोखिम बहन गर्नको लागि यस्तो बीमाको सुरुवात गरिएको नेपाल बीमा प्राधिकरणका उपनिर्देक तथा बाली पशुपंक्षी तथा जडीबुटी बीमा शाखा प्रमुख निर्मल अधिकारीले बताए ।
कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा अन्तर्गत के–के कुराहरुको बीमा गर्न सकिन्छ?
बाली बीमालेख अन्तर्गत सबै प्रकारका अन्नबाली जस्तै तरकारी, मसलाहरु, फलफुल, चिया तथा कफीसंगै मौरीको समेत बीमा गर्न सकिने अधिकारीले बताए । यस्तै पशुपंक्षी बीमालेख अन्तर्गत बाख्रा, गाईभैँसी बगुंर, कुखुरा, हाँस, अष्ट्रिच तथा प्यारेन्ट जस्ता पशुपंक्षी तथा माछाको बीमा गर्न सकिने उनको भनाई छ ।
यस्तै जडिबुटी बीमालेख अन्तर्गतमा टिमुर तथा मेन्थाहरुको बीमा गर्न सकिने उप–निर्देशक अधिकारीले आर्थिकभ्वाइससँगको कुराकानीको क्रममा बताए ।
कस्तो कस्तो अवस्थामा यो बीमाले जोखिम वहन गर्छ ?
शाखा प्रमुख अधिकारीका अनुसार यो बीमाले व्यक्तिको लापरबाही र पंक्षीहरुमा देखिने बर्डफ्लुको सङ्क्रमण बाहेकका सबै प्रकारका प्राकृतिक प्रकोप जस्तै, आगलागी, चट्याङ, भूकम्प, बाढी र डुवान, खडेरी, पहिरो, आँधिबेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हुने हानी–नोक्सानीजस्ता जोखिम बहन गर्ने गर्छ । यस्तै, जङ्गली जनावरहरूले व्यवसायमा क्षति पुराएको अवस्थामा हुने नोक्सानीलाई पनि यो बिमाले समेट्ने उनको भनाई छ ।
तर कृषि, पशुपंक्षी तथा जडीबुटी बीमाले, कानूनी निकायको आदेशमा बीमा गरिएको नष्ट गर्नुपर्ने भएमा, हराएमा वा चोरी भएमा, झुठ्ठा विवरण दिएमा, क्षमता भन्दा बढी पालन गरेमा, कुखुराहरुको हकमा बर्डफ्लुको कारणबाट मरेमा, युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही जस्ता कारणबाट बीमित पन्छी र पशुमाछा तथा बालीमा हानी नोक्सानी भएमा यो बीमाले जोखिम वहन तथा क्षतिपुर्ति हुँदैन ।


































