काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको एघारौंं साधारण बैठकमा कुलपतिको हैसियतले बोल्दै उनले यस्ताे बताएका हुन् ।
उनले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताए । प्रधानमन्त्रीले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा लाग्न निर्देशन दिए ।
उनले भने, ‘‘कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा समेत सघाउ पुर्याउने कार्य विश्वविद्यलायले गर्ने अपेक्षा गरेको छु।’’
प्रधानमन्त्रीले कृषि र पशुपालनमा आयात प्रतिस्थापन गरी आत्मनिर्भर बन्न नयाँ प्रविधिको विकास र प्रयोग आवश्यक रहेको बताए ।




































