काठमाडौँ । नेपालको ऊर्जा तथा कृषि क्षेत्र सुधारका लागि विश्व बैंकले २५ करोड ७० लाख अमेरिकी डलर बराबरको दुई ठूला परियोजना स्वीकृत गरेको छ।
विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले मे २९ मा स्वीकृति दिएको यस सहयोगबाट विद्युत् वितरण सुधार र सिँचाइ सेवा विस्तार गरिने छ। “इलेक्ट्रिसिटी सप्लाई रिलायबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट” नामक पहिलो परियोजनाका लागि १२ करोड डलर विनियोजन गरिएको छ। यसले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत् वितरण प्रणाली बलियो बनाउनेछ।
परियोजना अन्तर्गत नयाँ वितरण सब स्टेसनहरू निर्माण गरिने, पुराना लाइनहरूको स्तरोन्नति गरिने तथा वास्तविक समयमा निगरानी गर्न स्वचालित प्रणाली लागू गरिनेछ। यसले विद्युत् आपूर्ति भरपर्दो, नियमित र प्रभावकारी बनाउने विश्वास लिइएको छ।
दोस्रो परियोजना “रानी जमरा कुलरिया सिँचाइ प्रणाली आधुनिकीकरण परियोजना तेस्रो चरण” का लागि १३ करोड ७० लाख डलर लगानी गरिनेछ। यो परियोजनाले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सिँचाइ सेवाको पहुँच विस्तार गर्नेछ। परियोजना सम्पन्न भएपछि वर्षभर १७ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुनेछ।
विश्व बैंकका अनुसार, यो परियोजनाबाट करिब १ लाख ६० हजार मानिस लाभान्वित हुनेछन्। परियोजना जलस्रोत तथा सिँचाइ विभाग र कृषि विभागले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन्।































