काठमाडौँ। मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । (आज) बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा समेत धाँजा फाट्न थालेको कारण उक्त समस्यालाई दृष्टिगत गर्दै संकटग्रस्त क्षेत्र घोषणा सरकारको भनाइ छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ बमोजिम राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाका लागि मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् ।
यतिबेला मधेस प्रदेशमा साउनको पहिलो साता सकिनै लाग्दा समेत पर्याप्त वर्षा हुन सकेको छैन, जसले खोलानाला सुक्खा हुनुको साथै, भूमिगत जलस्रोत सुकेर खानेपानी कै अभाव हुन थालेको छ ।
वर्षा र सिँचाइ अभावका कारण तराईमा उल्लेख्य रूपमा रोपाइँ हुन सकेको छैन । रोपाइँ भएको स्थानमा पनि पानी अभावले खेतमा धाँजा फाट्न थालेको छ । तराईमा पानीका स्रोतको रूपमा रहेका कुवा, इनार र चापाकल नै सुक्न लागेका छन् ।
मध्य वर्षा याममा पनि पानी नपर्दा खडेरी र जलसंकट निम्तिएपछि मधेस प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । साथै, खानेपानीको संकट टार्न प्रदेश सरकारले दमकल र ट्यांकरबाट बस्ती बस्तीमा पानी बाँड्न थालेको छ ।


































