काठमाडौँ । हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै त्यहाँको जनजीवन कष्टकर बनेको छ ।
सिमिकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको स्थानीयको भनाई छ।
हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको हो । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाइ भएको छ ।
आज बिहानदेखि हिमपात भएसँगै अन्तर जिल्ला जोड्ने यातायातको साधन हवाई सेवा समेत प्रभावित बनेको छ । जिल्ला बाहिर जाने यात्रु समेत सिमिकोटमै रोकिएका छन् ।
यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीयको भनाइ छ । जेठमा पाक्ने उवा, जौँ र गौँ बालीलाई यस पटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने भएको छ ।
त्यस्तै मुस्ताङमा यस वर्षको पहिलो पटक हिमपात भएको छ । मुस्ताङमा सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको स्थानीय व्यवसायी तथा पत्रकार शुशिलबाबु थकालीले आर्थिक भ्वाइसलाई बताएका छन् ।
थकालीका अनुसार बिहानैदेखि हिमपात भए पनि सरकारी कार्यालयहरू सञ्चालन भएका छन् यातायातका साधन पनि निरन्तर चलिरहेका छन् । हिमपात भएपछि दैनिक जनजीवन भने कष्टकर भएको उनको भनाई छ ।
हिउपर्दा सामान्यतया अरू समयको भन्दा थप चिसो बढ्ने भए पनि किसान भने हर्षित भएको उनले बताए । लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेको अवस्थामा हिउँ परेसँगै किसानमा खुशी छाएको उनको भनाई छ ।
यसभन्दा अगाडि मौसम बदलिराखे पनि हिमपात हुन नसकेको कारण बाली बोटमा समस्या आएको थियो । बिहानैदेखि परेको हिमपातले स्थानीयलाई कामधन्दा र पशु चौपायालाई दाना तथा घाँस खुवाउन समस्या भइरहेको तर पनि बाली बोटमाले पानी पाएकोमा भने स्थानीय हर्षित छन् ।
त्यस्तै बागलुङको ढोरपाटन समेत हिउँ परेको छ । असाध्यै चिसो हुने ढोरपाटनमा बिहानैदेखि हिउँ परेको स्थानीय रामलाल विकले बताएका छन् । बिकका अनुसार बिहानैबाट फुरफुर परेको हिउँको कारण दैनिक कामकाज गर्न गाह्रो भएको बताएका छन् ।

































