काठमाडौं । (नाडा) अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले राज्यले अटोमोबाइल्स क्षेत्रलाई जनताको अत्यावश्यक वस्तुको रुपमा लिएर सोही अनुरुपको बजेट र नीति लिनु आवश्यक रहेको बताएका छन्। इकोनोमिक मिडिया एसोसियसन (इमान) द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पान र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा नाडाको तर्फबाट प्रस्तुति राख्दै राज्यले जनताको अत्यावश्यक वस्तुको रुपमा सवारी क्षेत्रलाई लिएर सहज हिसाबको नीति लिनुपर्ने बताएका हुन्।
कार्यपत्र प्रस्तुति गर्दै उनले भने,‘पछिल्लो समय अटोमोबाइल्स उद्योग ८० प्रतिशत खस्किसकेको छ । अब यस क्षेत्रमा लगानी बढाउन नीतिगत स्थिरता आवश्यक छ।’ श्रेष्ठले पछिल्लो समय विद्युतीय गाडीतर्फ सबैको आकर्षण बढिरहेको र नेपालमै उत्पादित विद्युतको उपयोगबाट यसको सञ्चालन गर्न सकिने भएकाले दीर्घकालिन नीति लिन सरकारको ध्यानाकर्षण गराए ।
लगानी बढाउन नीतिगत स्थिरता नै चाहिने आवश्यकता औल्याउँदै उनले इलेक्ट्रिक गाडीको प्रयोग बढाउन दीर्घकालिन हिसाबले अगाडि बढ्ने रोडम्याप आवश्यक रहेको धारणा व्यक्त गरे। उनले अटोमोबाइल्स क्षेत्र खस्किँदा देशको अर्थतन्त्र नै खस्किने भएकाले बेलैमा सचेत बन्नुपर्ने भन्दै सरकारलाई सचेत बन्न ध्यानाकर्षण गराएका छन् ।


































