काठमाडौं । झण्डै ४ वर्षपछि नाडा अटो शो २०२३ आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौ २६ गते देखि ३१ गतेसम्म काठमाण्डौको प्रदर्शनीमार्ग स्थित भृकुटी मण्डपमा अटो शो आयोजना गर्ने भएको हो ।
नाडाको आयोजनामा हरेक बर्षको दशै अगाडी आयोजना हुदै आएको नाडा अटो शो कोभिडको महामारीका कारण तीन वटा संस्करण सन् २०२०, सन् २०२१ र सन् २०२२ को अटो शो आयोजना हुन पाएन । २० र २१ मा कोभिडका कारण अटो शो गर्न नसकिएपनि २०२२ को अटो शो को संस्करण भने सरकारले सवारी साधनहरुको आयातमाथी लगाएको प्रतिवन्धका कारण आयोजना गर्न नसकिएको नाडाले जनाएको छ । तथापि, गत वर्ष नाडाले पहिलो पटक ईभी अर्थात् विद्युतीय गाडीको प्रदर्शन गरेको थियो ।
आउदो नाडा अटो शो २०२३ मा विद्युतिय लगायतका चार पाँगे्र, तीन पाँग्रे तथा दुई पाँगे्र सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायरटयूव, व्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु समेत राखिने नाडाले जनाएको छ ।
कोभिडको दिर्घकालिन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिवन्ध र प्रतिकूल मौद्रिक नीति जस्ता विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसामा, हाल आएको सुधार तथा सकारात्मकतातर्फ अग्रसर भईरहेको राष्ट्रिय अर्थतन्त्रका कारण यो प्रदर्शनी गत बर्षहरुमा सम्पन्न प्रदर्शनीहरु भन्दा थप बृहत र भव्य हुने अपेक्षा नाडाले राखेको बताएको छ ।


































