काठमाडौं । चितवनमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, चितवन अटोमोवाइल्स एशोसिएशन र नाडा प्रादेशिक एशोसिएशनका अध्यक्षहरुविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
यहीँ मंसिर २१ गते चितवनको जगतपुरमा नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साहको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको हो ।
सो कार्यक्रममा प्रदेशहरुको संरचनालाई कसरी अगाडी बढाउने, नाडाको सदस्यतालाई डिजिटलाइज्ड गर्ने, नाडाको विधान संशोधनका सम्बन्धमा, खुल्ला वोर्डरले पारेको समस्याहरुको सम्बन्धमा, व्यवसायीहरुको पुरानो स्टकको समस्या, नाडाको इतिहासको सम्बन्धमा, नाडाको सदस्यता लिदा प्रदेशबाट अनिवार्य स्वीकृती लिनु पर्ने, नाडामा उठेको रकमबाट प्रदेशलाई सहयोग गर्ने सम्बन्धमा, सवारी साधन आयातकर्ता र डिलरहरु विचको समस्याका सम्बन्धमा छलफल भएको थियो ।
यसका साथै हालको आर्थिक मन्दीले अटोमोवाइल व्यवसायमा पारेको समस्या, सेकेण्ड हयाण्ड अटोमोवाइल पार्टसहरुको व्यवस्थापन र त्यसको बैधानिकताको सम्बन्धमा, भन्सार मूल्याङ्कनले पारेका समस्याहरुका सम्बन्धमा र चितवन अटोमोवाइल डिलर्स एशोसिएशले (काडा) आयोजना गरेको अटो एक्सपोको जानकारीका सम्बन्धमा लगायत १४ वटा विषयहरुमा पनि छलफल गरिएको थियो ।
































