काठमाडौँ । हेटौडामा नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हेटौडा अटोमोवाइल्स एशोसिएशन र नाडा संस्थागत एशोसिएशनका पदाधिकारी तथा सदस्यबिच बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०८१ पौष २० गते हेटौडामा सम्पन्न हेटौडा अटोमोवाइल्स एशोसिएशनको २४ औँ वार्षिक साधारण सभाको सन्दर्भमा यस्तो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो । सो कार्यक्रममा उपस्थित सदस्यहरूले अटोमोवाइल क्षेत्रमा देखिएका विभिन्न समस्याहरूका सम्बन्धमा विभिन्न प्रश्न र जिज्ञासाहरू राखेका थिए ।
उक्त कार्यक्रममा खासगरि भन्सार विभाग र वाणिज्य विभागले जारी गरेको यम.आर.पी का विषयमा, भन्सार मूल्याङ्कनको समस्या, साफटा अन्तर्गत आएका अटोमोवाइल बस्तुहरू, झोले व्यापारीले पु¥याएको समस्या, मधेश प्रदेशमा विना प्यान नम्बर सञ्चालन ३००० पसलहरुको कारण अन्य व्यवसायीहरूलाई परिरहेको नकारात्मक असर, भ्याटमा दर्ता भएर राख्नु पर्ने लेखा सम्बन्धी समस्याहरू, सदस्यहरूको हितका लागि भलाई कोषको व्यवस्था, व्यवसायमा चेक बाउन्सको व्यावहारिक समस्या, अटोमोवाइल व्यवसायीहरू इन्स्योरेन्समा आबद्ध नहुँदाको समस्या र नाडाका प्रदेश एशोसिएशनहरुलाई साधारण सभा सम्पन्न गर्नका लागि पनि नाडाले आर्थिक श्रोतको व्यवस्था गरी दिनु पर्ने जस्ता विषयहरूमा विस्तृत छलफल भएको थियो ।
छलफलको अन्त्यमा नाडाका अध्यक्ष करण चौधरीले छलफलमा उठेका प्रश्नहरूको प्रत्युत्तर समेत दिनु भएको थियो भने नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले स्पेयर पार्टस र एम.आर.पीका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । कार्यक्रमको अन्त्यमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नाडा प्रदेशहरूलाई कर,भन्सार र भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रम र सीप विकास सम्बन्धी तालिम कार्यक्रमको आयोजना गर्न आग्रह गर्दै त्यसका लागि नाडाले आवश्यक सहयोग गर्ने बताएका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रम नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए भने कार्यक्रमको समापन हेटौडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष ऋषिप्रसाद ढकालले गरेका हुन् । सो कार्यक्रममा नाडाकातर्फबाट संस्थागत सदस्य कुलबहादुर क्षेत्री, केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल, केन्द्रीय कार्य समिति आमन्त्रित सदस्यद्धय नारायणप्रसाद पौडेल र सागर सापकोटाको उपस्थिति रहेको थियो ।
त्यसैगरी हेटौडा अटोमोवाइल्स एशोसिएशनका निबर्तमान अध्यक्ष दामोदर अटल, बरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल, उपाध्यक्ष जितेन्द्र तिवारी, महासचिव दिपेन्द्रकुमार उप्रेती, सचिव संञ्जयकुमार गुप्ता, कोषाध्यक्ष श्यामप्रसाद कडेल, कार्य समिति सदस्यद्धय उत्तम प्रसाद भण्डारी, सुजन उप्रेती, देवनारायण टुलाल, मुनालराज न्यौपाने, प्रकाश भट्टराई, क्षेत्रिय संयोजक दिपेश खड्गीको उपस्थिति रहेको थियो ।
त्यसैगरी जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राहुल अग्रवाल समेतको उपस्थिति रहेको थियो। अन्तरक्रिया कार्यक्रम सम्पन्न हुनु अघि हेटौडामा नाडाको इतिहासमा पहिलो पटक नाडा इण्टर प्रोभिन्स लेभल फ्रेण्डली व्याडमिण्टन प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । कूल ८ टिमविच डवल्स व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएकोमा चितवन अटोमोवाइल्स एशोसिएशनका पूर्व अध्यक्ष अमृत जोशी र कार्य समिति सदस्य श्रीप्रसाद श्रेष्ठको जोडीले प्रतियोगिता जितेको थियो ।
यस किसिमका कार्यक्रहरुले नाडा र नाडाका संस्थागत एशोसिएशनहरु बिचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुदै जाने विश्वास नाडाले लिएको छ । यस्ता कार्यक्रमहरू नाडाले विगतमा पनि गर्दै आएको र आउँदा दिनहरूमा पनि गर्दै जाने जनाएको छ ।


































