काठमाडौं । नयाँ विद्युतीय ब्रान्ड जीएसीलाई चौधरी ग्रुपले नेपाल भित्र्याएको छ। जीएसीको विद्युतीय ‘आयन वाई’ मोडल उत्तरी नाका रसुवागढीमा आइपुगेको हो।
जीएसी ब्रान्डको विद्युतीय गाडीको शोरुम थापाथलीमा राख्ने चौधरी ग्रुपले जानकारी दिएको छ। चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले २ वटा ब्रान्ड भित्र्याउने सम्झौता गरेका थिए।
चीन भ्रमण टोलीमा सहभागी निर्वाणले स्मार्ट मोटर्स र जीएसी मोटर्सको आधिकारिक बिक्रेताको बनेका थिए। स्मार्ट मोटर्सले मर्सिडिज बेन्जसँगको सहकार्यमा गाडी उत्पादन गर्दै आएको छ।
जीएसी मोटर्सको आधिकारिक बिक्रेता सीजी मोटर्सले आयन वाई मोडल भन्सार नाकामा आइपुगेको जनाएको छ। ‘आयन वाई मोडल आउने क्रममा छन्। केरुङ भन्सारमा आइपुगेका छन्’, सीजी मोटर्सका बजार प्रमुख किरण आचार्यले भने, ‘पहिलो शोरुम थापाथलीमा बनाउँदै छौँ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणको समयमा बिजनेस समिटमा भएको सम्झौता अनुसार नयाँ ब्रान्ड भित्र्याएको छ। केरुङ भन्सार कार्यालयका अनुसार १५० युनिट विद्युतीय गाडी भन्सार आइपुगेका छन्। भन्सार जाँचपास भने हुन बाँकी छ।


































