काठमाडौं । यामाहा नेपालले देशभरिका दक्ष सर्भिस प्रविधिकहरूलाई लक्षित गर्दै आयोजना गरेको नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ भव्य रूपमा सम्पन्न भएको छ ।
यामाहाको काठमाडौंस्थित तालिम केन्द्रमा सम्पन्न प्रतियोगितामा क्षेत्रीय चरणहरू पार गरेका उत्कृष्ट प्रविधिकहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगिता यामाहाको सेवा उत्कृष्टता सुनिश्चित गर्न आवश्यक प्रविधिक सीपहरूको परीक्षणका लागि डिजाइन गरिएको थियो । सहभागीहरूले यान्त्रिक मूल्याङ्कन, समस्या पहिचान चुनौती, लिखित परीक्षा, भाइभा तथा अन्य प्राविधिक चरणहरूमा प्रतिस्पर्धा गरेका थिए ।
विजेताहरू-
प्रथम उपविजेता : रोनित श्रेष्ठ – तिरुपति अटो प्यालेस, विराटनगर
दोस्रो उपविजेता (साझा): सागर त्वाती – जेएस अटोमोबाइल्स प्रा. लि., सतुंगल र विनोद चौधरी – जीएसएस ट्रेडर्स, लम्की
उक्त प्रतियोगिताका विजेताहरूले यामाहाको सेवा प्रणालीप्रति समर्पण, दक्षता र ग्राहक सन्तुष्टिमा आफ्नो भूमिकालाई प्रमाणित गरेको आयोजकको भनाइ छ ।
कार्यक्रमका अवसरमा एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले भने, “यामाहा एउटा ब्रान्ड मात्र होइन, यो नवीनता, प्रदर्शन र सटीकताले भरिएको उच्च प्रविधियुक्त मोबिलिटी समाधान हो । हरेक सफल यात्रा पछाडि दक्ष सर्भिस प्रविधिकको भूमिका हुन्छ । हामी जनशक्तिमा निरन्तर लगानी गर्दै उनीहरूलाई तालिम, उपकरण र अवसरहरू प्रदान गरिरहेका छौं ।”
उनका अनुसार यस्ता प्रतियोगिताले ग्राहक सन्तुष्टि र ब्रान्डप्रतिको विश्वासको जगको रूपमा कार्य गर्ने सक्षम जनशक्तिको विकासमा टेवा पुर्याउँछ ।
यामाहा नेपालले आफ्नो सेवा सञ्जाल विस्तारसँगै देशभर उत्कृष्ट प्रविधिकहरूको विकास तथा तालीममार्फत गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ । जापानी प्रविधिमा आधारित यामाहा नेपाल नेपालको एक अग्रणी तथा भरपर्दो दुईपाङ्ग्रे सवारी ब्रान्ड हो, जसले प्रदर्शन, स्टाइल र ग्राहक सेवामा उच्च मापदण्ड कायम राख्दै आएको छ ।


































