काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवमा मंसिर ७ गते देशका विभिन्न ८ स्थानमा बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
यसका साथै, बैंकले १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक (सीएसआर) कार्यक्रमहरू पनि सफलतापूर्वक सम्पन्न गरेको छ।
बैंकले सुनसरीको इटहरी, पर्साको वीरगञ्ज, चितवनको नारायणगढ, काठमाडौँको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन भएको छ।
१९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले देशका विभिन्न १६ स्थानका विद्यालयहरूमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण गरेको छ। यसका अतिरिक्त, बैंकले श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाई सामाग्री, मातातिर्थ वृद्धाश्रम समिति, चन्द्रागिरी, काठमाडौँलाई खाद्यान्न सामाग्री र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरी १९ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको छ।
त्यसैगरी, "स्वस्थ जीवनशैली का लागि खेलकुद" भन्ने नाराका साथ विकास बैंकले मिति २०८२ मंसिर ६ गते Garima Road Race अन्तर्गतको दोस्रो संस्करण Garima Road Race, 2022, समेत सफलतापूर्वक सम्पन्न गरेको छ, जसमा १,००० भन्दा बढी धावकहरूको सहभागिता रहेको थियो।
विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरूलाई आगामी दिनमा पनि प्राथमिकतामा राखी निरन्तरता दिने तथा Road Race प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ।

































