काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा कार्यालय सञ्चालनका लागि ९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार असोज मसान्तसम्म बैंकहरूको कार्यालय सञ्चालन खर्च ९ अर्ब ३४ करोड ३५ लाख रुपैयाँ पुगेको हो।
यो खर्च गत आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासको तुलनामा ५.८९ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले कार्यालय सञ्चालनका लागि ८ अर्ब ८२ करोड ४२ लाख रुपैयाँ खर्च गरेका थिए। एक वर्षमा बैंकहरूको यस्तो खर्च ५१ करोड ९३ लाख रुपैयाँले बढेको देखिन्छ।
बैंकहरूको कार्यालय सञ्चालन खर्चमा घर तथा कार्यालय भाडा, बिजुली, पानी, इन्टरनेट, कम्प्युटर तथा प्रविधि प्रणालीको मर्मतसम्भार, सुरक्षा, सरसफाइ र प्रशासनिक व्यवस्थापनलगायतका नियमित खर्च पर्छन्। बैंकको दैनिक कामकाज व्यवस्थित रूपमा सञ्चालन गर्न यस्ता खर्च अपरिहार्य मानिन्छन्।
पछिल्लो समय बैंकहरू सञ्चालन खर्च घटाउने रणनीतिमा केन्द्रित देखिएका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शाखा गाभ्न तथा समायोजन गर्न सहज हुने नीति ल्याएपछि बैंकहरू शाखा व्यवस्थापन र खर्च कटौतीतर्फ अग्रसर भएका छन्। शाखा सञ्जाल तथा सञ्चालन संरचनालाई व्यवस्थित बनाउँदा आगामी दिनमा सञ्चालन खर्च नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यालय सञ्चालनमा सबैभन्दा धेरै खर्च गर्ने बैंक ग्लोबल आइएमई रहेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८८ करोड ७ लाख रुपैयाँ खर्च गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो खर्च ८१ करोड ५३ लाख रुपैयाँ थियो। यसअनुसार ग्लोबल आइएमई बैंकको कार्यालय सञ्चालन खर्च ८.०२ प्रतिशतले बढेको छ।
कार्यालय सञ्चालन खर्चका आधारमा लक्ष्मी सनराइज बैंक दोस्रो स्थानमा रहेको छ। बैंकले समीक्षा अवधिमा ७१ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ, जबकि गत वर्षको सोही अवधिमा ६१ करोड २५ लाख रुपैयाँ खर्च भएको थियो।
तेस्रो स्थानमा रहेको एनआईएमबी बैंकले ६३ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ। नबिल बैंकले ६१ करोड ९८ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ५७ करोड ३० लाख रुपैयाँ कार्यालय सञ्चालनमा खर्च गरेका छन्।
त्यस्तै, हिमालयन बैंकले ५६ करोड २९ लाख रुपैयाँ, प्रभु बैंकले ५२ करोड २० लाख रुपैयाँ, एनआईसी एशिया बैंकले ४९ करोड ९९ लाख रुपैयाँ र एभरेष्ट बैंकले ४६ करोड ५५ लाख रुपैयाँ खर्च गरेका छन्। राष्ट्रिय वाणिज्य बैंकको कार्यालय सञ्चालन खर्च ४४ करोड ५३ लाख रुपैयाँ रहेको छ।
एनएमबी बैंकले ४१ करोड ७ लाख रुपैयाँ खर्च गर्दा सिटिजन्स बैंकको ३८ करोड ६६ लाख रुपैयाँ, कुमारी बैंकको ३८ करोड ४२ लाख रुपैयाँ र कृषि विकास बैंकको ३८ करोड २ लाख रुपैयाँ खर्च भएको छ।
यसैगरी, सानिमा बैंकको कार्यालय सञ्चालन खर्च ३५ करोड ८६ लाख रुपैयाँ, नेपाल बैंकको ३५ करोड ७५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ३५ करोड २१ लाख रुपैयाँ र प्राइम बैंकको ३१ करोड ५२ लाख रुपैयाँ रहेको छ।
नेपाल एसबीआई बैंकले कार्यालय सञ्चालनका लागि २८ करोड १५ लाख रुपैयाँ खर्च गरेको छ। सबैभन्दा कम खर्च गर्ने बैंकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ३२ लाख रुपैयाँ खर्च गरेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा केही बैंकको कार्यालय सञ्चालन खर्च घटेको छ। प्रभु बैंकको खर्च १.५२ प्रतिशत, एनआईसी एशिया बैंकको १६.३७ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १.७४ प्रतिशतले घटेको छ। त्यस्तै, एनएमबी बैंकको खर्च १.१५ प्रतिशत, कुमारी बैंकको १४.५५ प्रतिशत र नेपाल बैंकको ०.७८ प्रतिशतले घटेको छ।


































