काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)बीच आपसी सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ । एक्यानमा आबद्ध चार्टर्ड एकाउन्टेन्टहरूलाई सहुलियतपूर्ण ब्याजदरमा विविध कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता गरिएको हो ।
सम्झौतामा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका छन् ।
सम्झौता लागू भएसँगै एक्यानका सदस्य चार्टर्ड एकाउन्टेन्टहरूले न्यूनतम कागजातका आधारमा ७५ हजारदेखि पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, आवश्यक प्रक्रिया पूरा गरेपछि बिनाधितो अधिकतम १५ लाख रुपैयाँसम्मको व्यक्तिगत व्यावसायिक कर्जा लिन सकिने बैंकले जनाएको छ ।
यसका अतिरिक्त, गरिमा विकास बैंकले एक्यानमा आबद्ध चार्टर्ड एकाउन्टेन्टहरूलाई आकर्षक ब्याजदरमा आवास कर्जा तथा सवारीसाधन कर्जा समेत उपलब्ध गराउनेछ ।
हाल बैंकले ‘अब आफ्नै घर’ अभियानअन्तर्गत ६.४९ प्रतिशत ब्याजदरदेखि आवास कर्जा तथा ५.९९ प्रतिशतबाट सुरु हुने एसएमई तथा व्यवसायिक कर्जा प्रवाह गर्दै आएको जानकारी दिएको छ ।

































