काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएका ६ लाख २१ हजार ६ सय ६ कित्ता सेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ।
बैंकले आगामी मंसिर ११ गतेदेखि लिलामी प्रक्रिया सुरु गर्न लागेको हो।
कुल सेयरमध्ये ६ लाख ३ हजार १ सय ६२ कित्ता संस्थापक समुहका सेयर हुन् भने बाँकी सर्वसाधारण समुहका छन्। लिलामी बिक्रीको व्यवस्थापन गर्ने जिम्मा ग्लोबल आईएमई क्यापिटललाई दिइएको छ।
बैंकले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मूल्य तोकेको छ, जसअनुसार आवेदकले सोभन्दा बढी मूल्य कबुल गरी आवेदन दिनुपर्नेछ। सबैभन्दा उच्च मूल्य प्रस्ताव गर्ने आवेदकले प्राथमिकतामा सेयर प्राप्त गर्नेछन्।
लिलामीका लागि लगानीकर्ताले न्यूनतम १०० कित्ताबाट आवेदन दिन सक्नेछन् भने अधिकतम कित्ताको सीमा खुला राखिएको छ। आवेदन पेस गर्ने अन्तिम मिति मंसिर २५ तोकिएको छ।
संस्थापक समुहका सेयरमा आवेदन दिनेले नेपाल राष्ट्र बैंकले तोकेको फिट एन्ड प्रपरु सम्बन्धी सबै मापदण्ड पूरा गर्नुपर्नेछ। काठमाडौँ उपत्यकाभित्रका लगानीकर्ताले ग्लोबल आईएमई क्यापिटल, नक्सालमा गएर शिलबन्दी फारम भर्न सक्नेछन्। उपत्यका बाहिरका इच्छुकले ग्लोबल आईएमई बैंकका विराटनगर, हेटौंडा, वीरगन्ज, नारायणगढ, पोखरा, सुर्खेत, बुटवल र धनगढी शाखाबाट आवेदन दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ। बैंकले असोज २ देखि कात्तिक ९ गतेसम्म १स्१ को अनुपातमा २६ लाख २४ हजार ६ सय ७७ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो।
नेपाल धितोपत्र बोर्डले साउन १५ गते बैंकलाई हकप्रद निष्कासनका लागि अनुमति दिएको थियो।

































