काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.६० प्रतिशतले बढेको हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी पनि बढेको छ। गत असारसम्म बैंकले ९ अर्ब ४२ करोड ६२ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.५२ प्रतिशत बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी ८ अर्ब २ करोड ८ लाख ९४ हजार रुपैयाँ रहेको थियो।
बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ५९ करोड ८ लाख ६८ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १३ अर्ब ३ करोड ४० लाख ६७ हजार रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ११ करोड ७५ लाख ६ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब १८ करोड ४५ लाख ८६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १० अर्ब ८८ करोड ४५ लाख १८ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ रहेको थियो।
बैंकको वितरणयोग्य नाफा गत वर्ष १ अर्ब ७५ करोड ९ लाख ४१ हजार रुपैयाँ रहेको छ। यस आधारमा बैंकको लाभांश वितरण क्षमता ९.०८ प्रतिशत देखिएको छ।
एनएमबी बैंकको चुक्ता पुँजी २२ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ९० करोड १७ लाख ३४ हजार रुपैयाँ सञ्चित छ।
गत असारसम्म बैंकको निक्षेप संकलन १२.१७ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब ११ करोड ८४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा लगानी ९.३३ प्रतिशतले बढेर २ खर्ब ४९ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको असारसम्म बैंकको निक्षेप २ खर्ब ८० अर्ब ९२ करोड ६४ लाख रुपैयाँ र कर्जा लगानी २ खर्ब २८ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकको निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) ८२.७७ प्रतिशत रहेको छ।
नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो वर्ष १४.८० रुपैयाँ रहेको ईपीएस गत वर्ष बढेर २०.१८ रुपैयाँ पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात ११.८५ गुणा र प्रतिसेयर नेटवर्थ १८१.१५ रुपैयाँ रहेको छ।
यद्यपि, बैंकको खराब कर्जा (एनपीएल) भने बढेको छ। अघिल्लो वर्ष ४.११ प्रतिशत रहेको खराब कर्जा गत असारसम्म बढेर ४.९१ प्रतिशत पुगेको छ।


































