काठमाडौं । आज सोमबार (मंसिर २९ गते) ५ कम्पनीहरुको वार्षिक साधारणसभा बस्दैछ । आज माउन्टेन इनर्जी, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, आईसीएफसी फाइनान्स र सिक्लेस हाइड्रोपावर सभा बस्न लागेको हो । सभामा सबै कम्पनीहरुको मुख्य एजेन्डा लाभांश प्रस्ताव पारित गर्ने रहेको छ ।
जसमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारण सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजे ३९ औं वार्षिक साधारणसभा बस्दैछ ।
कृषि विकास बैंक लिमिटेडको १९ औँ वार्षिक साधारणसभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुँदैछ । सभाले ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर समेत) र अविमोच्य असंचिति अग्राधिकार सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने छ ।
माउन्टेन इनर्जी नेपाल लिमिटेडको सभा आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव पारित गर्ने एजेन्डा छ ।
सिक्लेस हाइड्रोपावर लिमिटेडले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर समेत) घोषणा गरेको छ । लाभांश पारितका लागि आज पोखराको घारपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे २० औं र २१ औं वार्षिक साधारणसभा बस्दैछ ।
यस्तै, आईसीएफसी फाइनान्स लिमिटेडले १५.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव पारितका लागि आज सभा बस्दैछ । सभा काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा बिहान १० बजे २२ औं वार्षिक साधारणसभा बस्दैछ ।

































