काठमाडौँ। कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार बैंकले सो अवधिसम्म ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको खुद नाफा ३२ करोड २४ लाख रुपैयाँ रहेको थियो ।
यसैगरी, बैंकको खुद शुल्क तथा कमिशन आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो वर्षको १४ करोड ५३ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर १५ करोड ८६ लाख रुपैयाँ पुगेको छ । कुल खुद सञ्चालन आम्दानीसमेत १३.६१ प्रतिशतले बढ्दै १ अर्ब २४ करोड रुपैयाँ कायम भएको छ ।
यद्यपि, बैंकको रिटेन्ड अर्निङमा गिरावट आएको छ । रिटेन्ड अर्निङ ४३.६६ प्रतिशतले घटेर २९ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको जगेडा कोष भने वृद्धि हुँदै १ अर्ब ८३ करोड रुपैयाँबाट १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकले ६३ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५२ अर्ब १० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको जनाएको छ।


































