काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७८ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा ६.९६ प्रतिशतले कम हो ।
बैंकको खुद ब्याज आम्दानी ०.२७ प्रतिशतले घटेर २ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ । यस्तै ,बैंकको सञ्चालन नाफा १ अर्ब १९ करोडबाट घटेर १ अर्ब ८ करोडमा झरेको छ । सञ्चालन नाफा र खुद ब्याज आम्दानी घट्दा खुद नाफा पनि घटेको हो । बैंकको इम्पेयरमेन्ट चार्ज ६१ करोड ९२ लाखबाट बढेर ८५ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको खराब कर्जा दर २.९९ प्रतिशत विन्दुबाट बढेर ४.०७ प्रतिशतमा पुगेको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ६ अर्ब ७७ करोड रुपैयाँ जम्मा रहेको छ । यस बैंकको प्रतिसेयर आम्दानी ८३ पैसाले घटेर ११ रुपैयाँ २ पैसा कायम भएको छ ।बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ २० पैसा रहेको छ ।

































