काठमाडौं । नेशलन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेको शेयरमा १० हजार लगानी गर्नेको हालको सम्पति ३ लाख १५ हजार रुपैयाँ पुगेको छ । आजभन्दा १४ वर्ष अगाडि सन् २०११ फेब्रुअरी १७ मा नेशनल लाइफको शेयर खरिद गर्न १० हजार लगानी गर्नेले ३० कित्ता शेयर हात पार्ने थिए । बोनस शेयरलाई कम्पाउन्डिङ गर्दा आजको मिति सन् २०२५ फेब्रुअरी १७ मा यस कम्पनीको ५०५ कित्ता शेयर पुगेको छ । यो बोनस शेयर र हकप्रद सहित जोडिएको आएको हो ।
लगानीकर्ताहरुले १३ हजार रुपैयाँ भन्दा धेरै रकम नगद लाभांश हात पारेका छन् । १४ वर्ष अगाडि शेयर खरिद गरेर होल्ड गर्ने लगानीकर्ताको केसमा यस्तो देखिएको हो । त्यो भन्दा अगाडि शेयर खरिद गर्नेको अझै धेरै शेयर कित्ता थप भएको हुन सक्छ ।
लगानीको ३० गुणा बढी रिटर्न दिने कम्पनीहरुमा गरिएको इन्भेष्टमेन्ट निकै लाभदायी मानिन्छ । त्यसमाथि यो कम्पनीले हरेक वर्ष जस्तो लगानीकर्तालाई २ अंकमा लाभांश दिंदै आएको छ । त्यसैले पनि १४ वर्ष अगाडि थोरै रकमले शेयर खरिद गरी होल्ड गर्नेलाई कम्पनीले खुसी बनाएको छ । पुँजी अनुसार व्यापार र नाफामा वृद्धि हुँदा नै कम्पनीले शेयरधनीलाई प्रतिफल दिन सफल भएको हो ।
५ वर्ष अगाडि ३ अर्ब ८ करोड रुपैयाँ पुँजी रहेको यस कम्पनीको हालको चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ छ । यस कम्पनीले अरु कुनै बीमासँग मर्जर नगरी ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन सफल भएको छ । कम्पनीले हकप्रद र बोनस शेयरबाटै नेपाल बीमा प्राधिकरणले तोकेअनुसार ५ अर्ब रुपैयाँ बराबरको पुँजी पुर्याएको हो । गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्टको आधारमा यस कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ । भने शेयर प्रिमियममा २ करोड ७८ लाख जम्मा रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट लाभांश घोषणा गर्न बाँकी छ । रिटेन्ड अर्निङको आधारमा हेर्ने हो भने कम्पनीले यस वर्ष पनि डबल डिजिटमा लाभांश दिन सक्ने क्षमता छ ।

यता, कम्पनीको लगानी पनि प्रत्येक वर्ष बढेको छ । आर्थिक वर्ष २०७६-७७ मा ३३ अर्ब ५८ करोड रुपैयाँ रहेको यस कम्पनीको लगानी अहिले बढेर ७० अर्ब ६५ करोड पुगेको छ । यो चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको डाटा हो ।
दोस्रो त्रैमासको रिपोर्ट अनुसार कम्पनीको बीमा कोषको आकार ८४ अर्ब १० करोड १७ लाख पुगेको छ । ५ वर्ष अगाडि ३६ अर्ब ५२ करोड रुपैयाँ बीमा कोषमा थियो । यता, कूल बीमा शुल्क संकलन पनि सोही अनुसार बढेको छ । चालु आवको ६ महिनामा कम्पनीले ९ अर्ब ६१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । ५ वर्ष अगाडि हेर्ने हो भने २०७६-७७ मा कम्पनी ९ अर्ब २६ करोड बीमा शुल्क संकलन गरेको थियो । ५ वर्ष अगाडि १२ महिनामा संकलन गरेको बीमा शुल्क भन्दा अहिले ६ महिनामा संकलन गरेको उक्त शुल्क धेरै छ । यसले कम्पनीको व्यापार बढेको जनाउछ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ६ महिनामा २७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको चौथो त्रैमासमा यस कम्पनीले ४० करोड ६३ लाख नाफा कमाएको थियो । रिपोर्ट हेर्दा यस कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी प्रत्येक वर्ष बढेको छ । जसले गर्दा नाफामा पनि सुधार देखिएको छ । बीमा कम्पनीहरुको लगानी शेयर बजार, ऋणपत्र, बैंक मुद्दति निक्षेप लगायतमा रहेको हुन्छ । शेयर बजार बढ्यो भने बीमाहरुको नाफामा पनि निकै राम्रो सुधार आउँछ । अहिलो शेयर बजार मापन गर्ने नेप्से सूचक पनि २७०० विन्दुमा छ । बजार बढेको खण्डमा अरु बीमासहित नेशनलको नाफामा सुधार आउने लगभग पक्का नै छ ।

नेशनल लाइफको प्रतिशेयर आम्दानी चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा १०.७५ रुपैयाँ कायम भएको छ । यता, प्रति शेयर नेटवर्थ १३४.०१ रुपैयाँ देखिएको छ ।

यस इन्स्योरेन्सको पछिल्लो १२ वर्षको औसत लाभांश वितरण दर २६.१५ प्रतिशत देखिएको छ । बोनस शेयर वितरणदर औसत २१.९२ प्रतिशत र नगद लाभांश ४.२३ प्रतिशत छ । १२ वर्षको अवधिमा कम्पनीले आव २०६९-७० मा सबैभन्दा धेरै ७२.५० प्रतिशत लाभांश दिएको थियो । सबैभन्दा कम आव २०७५-७६ मा १०.५३ रुपैयाँ लाभांश दिएको थियो ।

नेशनल लाइफ इन्स्योरेन्सले नेपालमा बढ्दो जीवन बीमाको आवश्यकतालाई पूरा गर्न विभिन्न जीवन बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ । साढे ३ दशकभन्दा बढी समयदेखि कम्पनीले उच्च-गुणस्तरको ग्राहक सेवा र वित्तीय समाधानहरु प्रदान गर्दै आएको छ । नेपालमा जीवन बीमाको क्षेत्रमा ३५ वर्षभन्दा बढीको अनुभव बोकेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको आर्थिक सुरक्षालाई पहिलो प्राथमिकता दिँदै आफ्नो सेवा विस्तार गरेको जनाएको छ । कम्पनीले देशको अधिकांश ठाउमा रहेको आफ्नो शाखा तथा सेवा केन्द्रहरु मार्फत लाखौं ग्राहकलाई जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।
सन् १९८८ मा स्थापना भएको यो कम्पनी हाल नेपालको बीमा बजारमा एउटा प्रमुख स्थान ओगट्न सफल भएको छ । इन्स्योरेन्सले ग्राहकको आवश्यकता अनुरुप विभिन्न प्रकारका जीवन बीमा योजनाहरु ल्याउने गरेको छ । कम्पनीले दीर्घकालीन लाभ प्रदान गर्ने खालका योजनाहरु ल्याउने गरेको छ । जसले ग्राहकहरुलाई सुरक्षित भविष्य सुनिश्चित गर्न मद्दत गर्छ ।
नेशनल लाइफले बीमा सेवामा पारदर्शिता र विश्वासलाई उच्च प्राथमिकता दिने बताउँछ । कम्पनीका अनुसार ग्राहकहरुको बीमा दाबी छिटो तथा पारदर्शी रुपमा प्रोसेस गर्न कम्पनी प्रतिबद्ध छ ।
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरुको दाबी भुक्तानी प्रक्रियालाई सरल, छिटो, र प्रभावकारी बनाएको छ । कम्पनीले बीमितहरुको सुविधाका लागि अनलाइन प्रीमियम भुक्तानी, डिजिटल दाबी दर्ता, र छिटो दाबी प्रोसेसिङ जस्ता सेवाहरु उपलब्ध गराएको छ । यसले बीमितहरुलाई घरमै बसेर पनि आफ्नो दाबी प्रक्रिया गर्न सक्षम बनाउँछ ।
कम्पनीले परिपक्व भएका बीमालेखहरुको भुक्तानी लिनका लागि बीमितहरुलाई समयमै सम्पर्क गर्न आग्रह गर्दै आएको छ । यसले गर्दा बीमितहरुले आफ्नो हकभोगको रकम समयमा प्राप्त गर्न सक्छन् । कम्पनीले बीमितहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अनलाइन प्रीमियम भुक्तानी प्रणालीलाई प्रोत्साहन गरेको छ । यसका लागि ईसेवा, खल्ती, र प्रभु पे जस्ता डिजिटल पेमेन्ट प्लेटफर्महरुसँग साझेदारी गरी प्रीमियम भुक्तानी गर्दा क्यास ब्याक सुविधा समेत प्रदान गरिएको छ।
कम्पनीको दाबी भुक्तानी प्रक्रिया सरल र पारदर्शी रहेको छ । बीमितहरुले आवश्यक कागजातहरु पेश गरेपछि, कम्पनीले सकेसम्म छिटो दाबी रकम भुक्तानी गर्ने व्यवस्था गरेको छ। यसले बीमितहरुको विश्वास जित्न मद्दत पुर्याएको छ ।

https://www.youtube.com/watch?v=GMwl8vyWrnI
































