काठमाडौँ। लेयर्स कुखुराको अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य पौष १३ गते शनिवारदेखि लागु हुने गरी हालसम्मकै उच्च मूल्य कायम भएको छ ।
जस अनुसार ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी ९७ क्रेट० रु ३ हजार ६ सय र मझौलाको रु ३ हजार ५ सय कायम गरिएको छ । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ ।
नेपाल लेर्यस कुखुरा पालक संघका अनुसार किसानले मूल्य बढेसँगै लागत मूल्य पाउने भएका छन्। दाउन्ने एग्रोफार्म, हिमचुुली पोल्ट्री, खिलुङकाली (जनकपुर एग्रो) सुविश पोल्ट्री भिज्जु पोल्ट्री, शिवम् लेयर्स फार्म लगायतले काठमाडौँको होलसेल बजारमा शनिवारदेखि कायम हुने गरी माथि उल्लेखित मूल्यमा अण्डाको बिक्री वितरण गरेका छन्।
जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले मूल्य बढेको हो लेर्यस कुखुरा पालक संघले जनाएको छ। किसानको फार्ममा बुढो कुखुरा बिक्री भएसँगै धेरै किसान विस्थापित भएकाले नयाँ चल्ला हाल्न नसकेको संघको भनाई छ । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य बढेको बताए ।

































