काठमाडौँ। आज आज मङ्गलवारका दिन प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने भएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ।
त्यसपश्चात् अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। पुनले आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस्तै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुलसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको छ। त्यसअघि सांसदहरूले विभिन्न मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव पेश गर्नेछन्।
बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची रहेको छ। संसद् सचिवालयका अनुसार परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची समावेश गरिएको छ ।

































