काठमाडौँ । आज पुस १ गते देखि ११ वटा बैंकले ब्याजदर समायोजन गरेका छन् । अधिकांश वाणिज्य बैंकहरुले पुस महिनाको लागि मंसिर महिनाकै मुद्दति निक्षेपको ब्याजदर लाई निरन्तरता दिएका छन् । यद्यपि, पुसका लागि केही बैंकले थोरै ब्याज बढाएका छन् भने कतिपयले घटाएका छन् ।
पुस महिनाका लागि नेपाल बैंक र एनआईसी एशिया बैंकले निक्षेपको ब्याजदर घटाउदा कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र एनएमबि बैंकले भने बढाएका छन् ।
बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मंसिरको तुलनामा नेपाल बैंकले ०.३५ प्रतिशत र एनआईसी एशिया बैंकले ०.१९ प्रतिशतले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्।
कृषि विकास बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५३६३ लाई बढाएर ५.५७ प्रतिशत पुर्याएको छ । संस्थागततर्फ यथावत राखेको छ ।
यता एनएमबि बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम ब्याजदर ५.५७ प्रतिशतबाट बढाएर ६.६ प्रतिशत पुर्याएको छ । यस्तै, संस्थागततर्फको ब्याजदर ४.५७ प्रतिशतबाट बढाएर ५.६ प्रतिशत पुर्याएको छ ।
यस्तै प्राइम कमर्सियल बैंकले पुस महिनाको लागि व्यक्तिगत मुद्दति निक्षेपतर्फ ३ देखि ६ महिनाको ब्याजदर ५.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको ब्याजदर ५.७५ प्रतिशत, १ वर्षे अवधिको ब्याजदर ६ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.२५ प्रतिशत तोकेको छ ।
एनआईसी एशिया बैंकले मंसिरको तुलनामा पुसमा निक्षेपको ब्याजदर घटाएको छ ।
व्यक्तिगत मुद्दति निक्षेपतर्फ मंसिरमा रहेको ६.७९ प्रतिशतको अधिकतम ब्याजदरलाई घटाएर पुसमा ६.६ प्रतिशतमा झारेको हो । यस्तै, संस्थागतको ५.७९ प्रतिशतलाई घटाएर ५.६ प्रतिशतमा झारेको छ ।
नेपाल बैंकले ५.९५ प्रतिशत अधिकतम रहेको व्यक्तिगत मुद्दतितर्फको ब्याजदर घटाएर ५.६ प्रतिशतमा सीमित गरेको छ भने संस्थागतर्फको ४.९५ प्रतिशतलाई घटाएर ४.७ प्रतिशतमा झारेको छ ।



































