काठमाडौं । लगानीको बाह्य क्षेत्र खुम्चिदा बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकम (तरलता) थुप्रिन पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म ४ खर्ब बढी तरलता थुप्रिन पुगेको छ ।
कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार भन्दा ठूलो निक्षेप वित्तीय संस्थाहरुमा थुप्रिनुले मुलुकमा लगानीको वातावरण नभएको स्पष्ट हुन्छ । लगानीको वातावरण धुमिल हुँदैगर्दा बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक ब्याजदर अफर गरेकैले लगानीकर्ताहरु निक्षेपमा आकर्षित भएको देखिन्छ । जुन बैंकहरुमा आएको एफडी (फिक्स डिपोजिट) बचतको तथ्याङ्कले प्रस्ट हुन्छ ।
झण्डै ६० प्रतिशत निक्षेप मुद्दतीमा
केन्द्रीय बैंकका अनुसार कूल निक्षेपको झण्डै ६० प्रतिशत (५९.३० प्रतिशत) निक्षेप मुद्दती खातामा जम्मा भएको छ । तरलता अभावको नाममा बैंकहरुले धमाधम निक्षेपको ब्याजदर बढाएसँगै बचतकर्ताहरु मात्र नभएर लगानीकर्ताहरु समेत मुद्दती बचत (एफडी)मा आकर्षित भएको देखिन्छ । राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म ३३ खर्ब २ अर्ब ४१ करोड ७० लाख रुपैयाँ बराबरको बचत मुद्दती खातामा जम्मा भएको छ ।
कर्जा लगानी ३१ अर्बले घट्यो
गत चैत मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानी ३१ अर्ब बढीले घटेको छ । आर्थिक वर्ष २०७९/८० को चैतमसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले कूल ४८ खर्ब ८९ अर्ब कर्जा लगानी गरेका थिए । जतिबेला बैंकहरुको निक्षेपको आकार जम्मा ५४ खर्ब ८५ अर्ब हारहारी मात्र रहेको थियो । तर तीन महिनामा नै बैंकहरुले ८४ अर्ब रुपैयाँले निक्षेप बढाउँदै ५५ खर्ब ६९ अर्ब पु¥याउँदा यता कर्जा लगानी घटेर ४८ खर्ब ५८ अर्ब रुपैयाँमा झरेको हो ।
खराब कर्जा १ खर्ब ६२ अर्बमाथि
तर कर्जा लगानी घट्दैगर्दा पनि यता बैंकहरुको खराब कर्जाको दर (एनपीएल) भने घट्न सकेको छैन । जेठ मसान्तसम्म बैंकहरुले गरेको कूल कर्जा लगानीको ३.३४ प्रतिशत अर्थात् १ खर्ब ६२ अर्ब रुपैयाँ खराब कर्जामा रुपान्तरण भएको छ । गरेको लगानी समयमा नै उठ्न नसक्दा बैंकहरु तनावपूर्ण अवस्थामा छन् भने नाफाको अधिक प्रतिशत जोखिम सुरक्षण (रिक्स प्रोभिजनिङ) का लागि छुट्याउनु परेको छ ।


































