काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य कार्य सम्पादनबाट राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताएका छन् ।
उनले करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउन आवश्यक रहेको बताए ।
अर्थमन्त्री पौडेलले सूचना प्रविधिको प्रयोगमा बिस्तार एवम् त्यसको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत कम हुनेगरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नका लागि थप क्रियाशिल हुनका लागि कर प्रशासनलाई निर्देशन दिए ।
यस्तै उनले सङ्कलन गरिने करको सही सदुपयोगबाट मात्रै देशको समृद्धिको आधार तयार हुनसक्ने बताए । संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भए पनि त्यो अनुपातमा राजश्व सङ्कलन बढ्न नसकेको उहाँले बताए ।
उनले वक्यौता असुली, बेरुजु फस्र्यौट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति गएको वर्षको भन्दा सन्तोषजनक नरहेको बताउनुभयो ।


































