काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा बुधबारदेखि १० दिनसम्म दैनिक ५ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।
प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गरी विभिन्न स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी गराएको छ ।
प्राधिकरणका अनुसार विद्युत् अवरुद्ध माघ ९ गतेदेखि १८ गतेसम्म हुनेछ ।
माघ १० गते कोटेश्वर फिडर (बानेश्वर)अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्र, माघ ११ गते च्यासल, लुभू फिडर (लगनखेल) र इमाडोल–१ (बानेश्वर) फिडर अन्तर्गत बालकुमारी, इमाडोल तथा लुभू वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
यस्तै, माघ १२ गते बलम्बु फिडर अन्तर्गत बलम्बु क्षेत्र, माघ १३ गते रोपवे फिडर (कीर्तिपुर)अन्तर्गत त्रिभुवन विश्वविद्यालय वरिपरिका क्षेत्र, माघ १४ गते इमाडोल–१ (बानेश्वर) फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुने जनाइएको छ ।
माघ १५ गते गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्र, माघ १६ गते मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, माघ १७ गते शंखमुल फिडर (बानेश्वर)अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्र र माघ १८ गते केएससी र ओल्ड एयरपोर्ट फिडर (बानेश्वर)अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले बताएको छ ।

































