- ऋषिबहादुर राई/उदयपुर
ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै
तीन दशकअघि रेडियो नेपालमा यो गीत बज्थ्यो । गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार थियो । पहाडका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ्ग सोलुखुम्बुको एक मात्र नून तेल र भाँडावर्तन, अन्नपात, मरमसला किन्ने थलो थियो कटारी बजार ।
सडक थिएन, यी तीन जिल्लासम्म कटारी बजारबाट ढाकरमा सामाग्री ढुवानी हुन्थे । पहाडी जिल्लाका आलु ढाकरमै कटारी आइपुग्थ्यो, फर्किन्दा ढाक्रेहरूले साहुका सामान बोकेर जान्थे । ‘त्यतिबेलाको कटारी बजार त गुल्जार थियो’ २०२९ सालदेखि कटारी बजारमा व्यापार गर्दै आएका ज्योतिकुमार साह भन्छन्, ‘अहिले त चरोमुसो पसलमा आउँदैनन् ।’
साह सिरहाको बन्दिपुर हुँदै कमलाखोलाको बाटो अभिभावकहरूसँग कटारी बजार आइपुगेका थिए । ‘बाटो थिएन मधेसका व्यापारी कमला खोलैखोला कटारी व्यापार गर्न आएका थिए’, साह भन्छन्, ‘धनुषा, सिरहा, सप्तरीबाट कटारीमा ठूलो व्यापार हुन्छ भनेर व्यापारी हरू आउँथे ।’ कटारी बजार सगरमाथाको द्वारको रूपमा पनि परिचित बजार थियो । सगरमाथा चढ्न तेन्जिङ्ग शेर्पा र एडमण्ड हिलारी कटारी बजारकै बाटो गएको बुढापाकाहरू बताउँछन् ।
विसं २०५० सम्म कटारी बजार एउटा ऐतिहासिक बजार थियो । विस्तारै सडक निर्माण शुरू भयो । मिर्चैया कटारी हुँदै २०५४ सालमा कटारी, घुर्मी, ओखलढुंगा सडकको ट्रयाक खुल्यो । सडक नेपाली सेनाले निर्माण गरेको थियो ।
सडक निर्माणसँगै पहाडी जिल्लाहरूमा सामग्री ढुवानी सहज त भयो तर, त्यसपछि स्तरोन्नती हुन पाएन । मिर्चैया–कटारी २६ किमी र कटारी–घुर्मी ४४ किमी सडक जीर्ण भएका कारण मानिसहरू हिंड्न नै डराउन थालेको ओखलढुंगा स्थायी घर भई कटारीमा रोजगारी गर्दै आएका शुभराज राई बताउँछन् । उनी भन्छन्, ‘बीच बाटोबाट फर्किनुभन्दा सिन्धुलीबाट घुमेर जानु सजिलो ठानी मानिस हरू त्यतैबाट हिँड्न थाले ।’
सडक विस्तारले फड्को मारेसँगै सिन्धुलीको खुर्कोट घुर्मी बजार हुँदै पहाडी तीन जिल्ला आउजाउ गर्न सडक राम्रो भएपछि कटारीबाट आउजाउ कमी हुन थाल्यो । गाईघाटबाट खोटाङ्ग पनि जोडिएपछि कटारी विस्तारै टोले बजारमा परिणत भयो ।
तराईका जिल्लाबाट कटारी हुँदै पहाडी जिल्ला जानुपर्ने बाध्यता हट्यो । स्तरोन्नती नहुँदा आउजाउ नै कष्टकर बन्यो । मानिसहरू सिन्धुलीबाट घुमेर जान थाले । कटारीका होटल व्यवसायी प्रताप राई भन्छन्, ‘मदन भण्डारी राजमार्ग जोडिएकाले झिनो आशा मात्रै कायम छ, नत्र बजार सुकिसक्यो ।’
कुनै समयको गुल्जार बजारमा अहिले ग्राहक नै नभएको उदयपुर उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष अरुण साह बताउँछन् । ‘व्यापारीहरू अन्यत्र पलायन थालिसके, बजारमा किनमेल छैन । ग्राहक नै नभएपछि बजार सुनसान हुने नै भयो,' उनले भने ।
विगतमा कटारी बजारको शुक्रबारे हाट चर्चित थियो । अहिले शुक्रबार हाट लाग्छ भन्ने कुरा पनि धेरैले बिर्सिसकेका छन् । बजारको पहिचान कायम राख्न नगरपालिकाले कार्यविधि बनाएर कृषि उपज केन्द्रमा शुक्रबार हाट लगाउन थाले पनि हाटमा ग्राहक र व्यापारीको चासो नदेखिएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । रासस





































