काठमाडौँ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार तेस्रो त्रैमाससम्म १५ करोड २४ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको देखिएको छ ।
यो गत वर्षको यसै अवधिको तुलनामा २४.४० प्रतिशत कम हो। गत आवको चैत महिनासम्म बैंकले २० करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढे पनि नाफामा भने गिरावट आएको छ।
समीक्षा अवधिसम्म आइपुग्दा बैंकले १ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ७१ करोडबाट बढेर ८३ करोड २ लाख पुगेको छ। हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
यसको जगेडा कोषमा १ अर्ब ७९ करोड रुपैयाँ जम्मा छ। बैंकको वितरणयोग्य नाफा भने २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक छ । निष्क्रिय कर्जा ४.९७ प्रतिशत पुगेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा पुगेको छ ।





































