काठमाण्डौ। बीमा कम्पनीहरुका लागि बीमा प्राधिकरणले निर्जीवन दुर्घटना बीमा सम्बन्धमा सर्कुलर जारी गरेको छ ।
हाल कार्यन्वयनमा रहेको कृषि पशुपन्छी तथा जडिबुटी बीमालेखहरुमा भएको दुर्घटना बीमा सम्बन्धमा प्राधिकरणले नयाँ व्यवस्था लागु गर्नका लागि सर्कुलर जारी गरेको हो । प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबुटी बीमालेख बमोजिम बीमा गर्ने कृषकले न्यूनतम २ लाख रुपैयाँबराबरको दुघर्टना बीमा गर्नुपर्ने व्यवस्था गरेको सर्कुलरमा उल्लेख छ । भने दुर्घटना बीमाबापत बीमाशुल्क २ सय रुपैयाँ हुने बीमा प्राधिकरणले सर्कुलरमा उल्लेख गरेको छ ।
यस्तै एक वर्षभन्दा कम अवधिको लागि जारी हुने बीमालेखमा समेत दुर्घटना बीमाबापत पुरा बीमाशुल्क लाग्नेछ । एकभन्दा बढीपटक कृषि, पशुपन्छी तथा जडिबुटी बीमालेख लिने कृषकलाई दुर्घटना बीमा लिन अनिवार्य नहुने उल्लेख छ । यता दुर्घटना बीमाको अवधि समाप्त हुनु अगावै कृषकलाई जानकारी गराउने जिम्मेवारी बीमकको हुने प्राधिकरणले सर्कुुलरमा समेटेको छ ।
यसैगरी दुर्घटना बीमाबापत लाग्ने बीमाशुल्कमा अनुदान उपलब्ध नहुने प्राधिकरणले उल्लेख गरेको छ । अब सामूहिक रुपमा गरिएको बीमाको हकमा भने बीमालेखमा आवद्ध प्रत्येक किसानको छुट्टाटुट्टै दुर्घटना बीमा गर्नुपर्नेछ । बीमालेखमा उल्लेख गरिएको बीमा अवधिभित्र वा बढीमा एक वर्षभित्र देहाएको अवस्था सिर्जना भएमा दुर्घटना बीमाबापत बीमांक रकम बीमकले बीमितलाई भुक्तानी गर्नुपर्नेछ निर्देशन जारी गरिएको छ ।
निर्देशन भनिएको छ बिमालेखको अवधिभित्र वा बढीमा एक वर्षभित्र किसानले आत्महत्या बाहेक अन्य कुनै दुर्घटना भई मृत्युबरण गरेमा, स्थायी वा पूर्णरुपमा अशक्त भएमा, एक वा दुवै हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने भएमा, एक वा दुवै खुट्टाको गोली गाँठोदेखि माथि पूरै खुट्टा काम नलाग्ने भएमा र दुवै आँखाको दृष्टि गुमाएमा बिमा बापतको दाबी भुक्तानी पाउन सकिने छ ।






































