काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन गर्ने निर्णय गरेको छ । यो निर्णय भदौ २९ गते कार्यकारी निर्देशकस्तरबाट गरिएको हो ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अधिकांश जिल्लामा निषेधाज्ञा र कर्फ्यू जारी भएकाले महशुल काउन्टर सञ्चालन गर्न असम्भव भएको प्राधिकरणले जनाएको छ ।
समस्या समाधानका लागि प्राधिकरणले भदौ २४ देखि असोज २ गतेसम्म (१० दिन) उपभोक्ताले पाउनु पर्ने रिबेट/पेनाल्टी सुविधा कायम गर्न ‘एम–पावर बिलिङ सिस्टम’मा होलिडे सेटअप गर्ने निर्णय गरेको हो ।
यस अवधिमा महशुल तिर्ने उपभोक्तालाई कुनै जरिवाना लाग्ने छैन । साथै काउन्टरमार्फत बुझाइएको रकम पनि समायोजन गरिने प्राधिकरणले स्पष्ट पारेको छ ।
देशभरका सम्बन्धित कार्यालय तथा शाखाहरुलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।


































