काठमाडौं । नेपालका २ वटा परियोजनाको लागि विश्व बैंकले साढे २६अर्ब ऋण स्वीकृत गरेको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपालका २ वटा परियोजनाको लागि २० करोड डलर अर्थात (२६ अर्ब ५६ करोड रुपैयाँ) ऋण स्वीकृत गरेको हो।
विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि आवासीय निर्देशक फेरिस हदाद जभसले भने, “सेवा र पूर्वाधारको क्षेत्रमार्फत् हाम्रा यी नयाँ परियोजनाहरूले यहाँका मानिसहरूको जीवनस्तर सुधारमा सहयोग पुर्याउनेछन्।”
यस परियोजनाले जलवायु केन्द्रीत पूर्वाधार खर्च बढाउर्न, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रवाह प्रवर्द्धनका लागि नेपालको न्यूनतम एफडीआई थ्रेसहोल्ड कम गर्न र एफडीआईको प्रक्रिया सुव्यवस्थित र स्वचालित गर्न पनि भूमिका खेल्ने विश्व बैंकको भनाई छ ।
विश्व बैंकले नेपाललाई वित्तीय सुधारका लागि १० करोड डलर र प्रादेशिक तथा ग्रामीण सडक सञ्जाल मर्मत तथा सुधारका लागि १० करोड डलर ऋण दिने भएको हो । सडक सुधार कार्यक्रमको लागि स्वीकृत १० करोड डलर ऋण नेपालका प्रादेशिक र स्थानीय सडकहरुको विकास र मर्मत सम्भारका खर्च हुने जनाइएको छ।


































