काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) र इन्डियन चम्बर अफ कमर्श आइसिसी) बिच आर्थिक सम्बन्ध अभिवृद्धि सम्बन्धी दुई समझदारी भएको छ ।
युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशीता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी गरिएको हो। नेपाल उद्योग परिसंघले आइतबार काठमाण्डैंमा गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र इन्डियन चेम्बर अफ कमर्शका अध्यक्ष अमेया प्रभुले हस्ताक्षर गरेका छन्।
यो साझेदारीले नेपाल र भारतबिच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न सरोकारवालाहरूलाई प्लेटफर्म प्रदान गर्ने छ।
कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालमा पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीको अवसरहरू रहेको भन्दै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । उनले नेपालको स्वास्थ्य सेवा क्षेत्र भित्रको अपार सम्भावना, शिक्षा र चिया लगायतका क्षेत्रमा भएको लगानीको अवसरहरूबारे प्रकाश पारेका छन् ।
इन्डियन चेम्बर अफ कमर्शका अध्यक्ष प्रभुले नेपाल र भारतबिचको सम्बन्धलाई महत्त्व दिँदै दुवै देशले संयुक्त उद्यम र साझेदारीको हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताए। पारस्परिक समृद्धि र दिगो विकासका लागि यस्ता सहकार्यको रणनीतिक महत्त्व रहेको उनले बताए।
परिसंघका उपाध्यक्ष निर्माण चौधरीले क्षेत्रीय व्यवसायीक विकासमा युएसीको महत्त्व बारे प्रकाश पारे । साथै उनले युएसीले एशीयन राष्ट्रहरूबिचमा आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।


































