काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको राजनीतिक नेतृत्वमा देखिएको पुस्तान्तरणलाई ऐतिहासिक परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उनले अहिलेको नेतृत्व संरचना देशको नयाँ राजनीतिक युगतर्फको संकेत भएको बताए ।
उनका अनुसार ३६ वर्ष उमेरका प्रधानमन्त्रीले देशको नेतृत्व सम्हाल्नु र आफू ५० वर्षको उमेरमै मन्त्रिपरिषद्को सबैभन्दा वरिष्ठ सदस्यका रूपमा रहनुले परम्परागत राजनीतिक सोचमा ठूलो परिवर्तन आएको देखाउँछ ।
अर्थमन्त्री वाग्लेले अब निजी क्षेत्रले पनि आफ्नो सोच र कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याए । उनले देश विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए ।
उनले प्रशासनिक र नियामक प्रणालीमा देखिने पहुँच र भनसुन आधारित निर्णय प्रक्रियालाई अन्त्य गर्न सरकार दृढ रहेको उल्लेख गर्दै भ्रष्टाचार र बिचौलिया प्रवृत्तिप्रति कडा कदम चालिने बताए ।
वाग्लेले निजी क्षेत्रलाई आर्थिक विकासको मुख्य साझेदारका रूपमा स्वीकार गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।

































