काठमाडौं । बेल्ट एन्ड रोड अर्थात बीआरआई कोओपरेसन फ्रेमवर्क सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका दौरान गत डिसेम्बर चारमा दुई राष्ट्रबिच फ्रेमवर्कमा हस्ताक्षर भएको थियो ।
फ्रेमवर्क अन्तर्गत १० वटा परियोजनाहरुलाई समावेश गरिएका छन् । यसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र किमाथांका पुल तथा आईसपी परियोजना, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजना नेपालतर्फ र अमरगढी सिटी हल परियोजना रहेका छन् ।
त्यस्तै, जिलोङ–रसुवागढी चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइन, मदन भण्डारी विश्वविद्यालाय, काठमाडौँ साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, चीन–नेपाल मैत्री औद्योगिक पार्क र झापा स्पोट्र्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स रहेका छन् ।
सम्झौतामा चिनियाँ पक्षले बेल्ट एन्ड रोड संयुक्त रूपमा निर्माण गर्ने ढाँचाअन्तर्गत नेपालको विकास प्रयासलाई प्राविधिक र आर्थिक सहयोग प्रदान गर्ने उल्लेख गरिएको छ । दुबै पक्षले प्राविधिक सहयोग सुनिश्चित गर्न र सार्वभौम प्रारम्भ गरिएका परियोजनाहरूका लागि दुवै पक्षको आवश्यकताहरू अनुरूप गर्ने सहायता मोडालिटीहरू सुनिश्चित गर्नको लागि काम गर्ने पनि सम्झौतामा भनिएको छ ।
यस्तै दुवै पक्षले प्राविधिक, वित्तीय, व्यावसायिक र आर्थिक सम्भाव्यताको वस्तुनिष्ठ विश्लेषण गर्ने र प्राथमिकतामा परेका आयोजनाहरूको लागि ‘भ्लालु फर मनी’ सुनिश्चित गर्ने बताइएको छ ।


































