काठमाडौँ । साताको तेस्रो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । पछिल्लो दुई कारोबारका दिन लगातार रूपमा बढेको बजारमा आज भने गिरावट देखिएको हो । बजारमा आएको उतारचढावले लगानीकर्तामा दुबिधा पैदा गरेको देखिन्छ ।
आगामी मौद्रिक नीतिको प्रतीक्षामा रहेका लगानीकर्ताले बजारका निमित्त उपयुक्त वातावरण निर्माण हुनेमा अपेक्षा राखेका छन् । बैंकको ब्याजदर घट्दो क्रममा रहेकोले पनि लगानीकर्ताहरूमा उत्साह कायम छ । हाल अर्थतन्त्र सुधारतिर अघि बढिरहेको छ, जसले बजारलाई दीर्घकालीन रूपमा सकारात्मकतातर्फ उन्मुख गराउँछ भन्ने आम लगानीकर्ताको अपेक्षा रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२४ अकंले घटेर २७४८.९६ बिन्दुमा कायम भएको छ। आज ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रुपैयाँको शेयर कारोबार भएको हो।आज फाइनान्स समूहको १.१२ प्रतिशत, निर्जीवन बीमा समूहको ०.१३ प्रतिशत र व्यापार समूहको ०.३५ प्रतिशतले शेयर मूल्य बढेको छ। यस दिन १० उपसूचक राताम्य भएका छन् ।
आज बजारमा गिरावट आउँदा तीन वटा उपसूचक मात्र हरियाली भएको छ । उक्त दिन बजारमा गिरावट आउँदा पनि गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावार, बेस्ट फाइनान्स, एनएलजी इन्स्यारेन्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


































